काठमाडौं । पर्वतारोही र पदयात्रीहरुको सुरक्षा सुधारको लागि नेपालमा पहिलो पटक नयाँ सार हेलिकप्टर डिटेक्टर सञ्चालनमा आएको छ । स्तरिय उद्धार प्रविधि विकास गर्ने प्रमुख कम्पनी रेक्कोले आफ्नो रेक्को सार हेलिकप्टर डिटेक्टर नेटवर्क विस्तार गर्दै नेपालमा नयाँ प्रणाली भित्र्याएको हो ।
पर्वतारोहण तथा पदयात्रा क्षेत्रमा हराएका व्यक्तिहरूको उद्धारमा उपयोगी हुने यो प्रणालीलाई सञ्चालनमा ल्याउने नेपाल ११औं देश बनेको छ । सिम्रिक एयरका चालक दल तथा नेपाल राष्ट्रिय पर्वतीय गाइड संघ (एनएनएमजिए)का ६ पर्वतीय गाइडहरू छिरिङ पाण्डे भोटे, पिम्बा तेन्जिङ लामा, तुल सिंह गुरुङ, अबिरल राई, दावा साङ्गे शेर्पालाई स्विजरल्याण्डका उद्धार विशेषज्ञ ब्रुनो जेल्क, उद्धार विशेषज्ञ मथियास होफर तथा रेक्को प्रशिक्षक छिरिङ पाण्डे भोटेले पोखरा र अन्नपूर्ण क्षेत्रमा यो प्रणालीको तालिम दिइसकेका छन् ।
नेपाल राष्ट्रिय पर्वतारोहण पद प्रदर्शक संघका अध्यक्ष तुलसिंह गुरुङका अनुसार रेक्को प्रणाली हिमालयमा छिटो खोज तथा उद्धार कार्यहरूका लागि अत्यन्त उपयोगी देखिन्छ । रेक्को सार हेलिकप्टर डिटेक्टर हराएका व्यक्तिहरूको खोज तथा उद्धार कार्यमा अझ प्रभावकारी हुनुका साथै हेलिकप्टरले ६ हजार मिटर उचाइसम्म उडान भर्न सक्ने भएकाले हिमपहिरो दुर्घटना भएको खण्डमा पनि यस हेलिकप्टर डिटेक्टरलाई प्रयोग गर्न सक्ने उनको भनाइ छ । उनले भने, यो प्रणाली नेपाल भित्र्याएकोमा रेक्को परिवार र शिक्षण टोलीलाई आभार व्यक्त गर्न चाहन्छु ।’
त्यस्तै, क्याप्टेन सिद्धार्थ जंग गुरुङले रेक्को सार प्रणालीले हिमालमा फसेकाहरुको जीवन बचाउन सहयोग गर्ने बताए । उनले भने, ‘यदि तपाईंले यात्री हुनुहोस् वा पर्वतारोही, यस प्रविधिबाट हामी तपाईंलाई पत्ता लगाउन सक्षम हुनेछौं ।’
यो प्रविधिले हेलिकप्टरबाट ६ मिनेटमै १ वर्ग किलोमिटर क्षेत्र खोजी गर्न सक्ने क्षमता राख्छ । यसले उद्धार टोलीको जोखिम कम गर्दै खोजीलाई प्रभावकारी बनाउछ । जाडो मौसम मात्र नभई वर्षभर पदयात्री तथा पर्वतारोहीहरूको खोजीका लागि उपयोगी हुने यो प्रविधि हाल नेपालका विभिन्न उद्धार संस्थाहरूमा १० वटा ह्याण्डहेल्ड डिटेक्टरका रूपमा उपलब्ध छ । २०२४ देखि ६ हजार मिटरभन्दा माथि पर्वतारोहण गर्ने व्यक्तिहरूका लागि खोजी तथा उद्धार उपकरण अनिवार्य गरिएको छ, जसमा रेक्को रिफ्लेक्टर उपयुक्त विकल्प हुन सक्छ ।
२०१६ मा सुरु भएदेखि, रेक्को सार हेलिकप्टर डिटेक्टरले जाडो मौसमको उद्धारबाट चारै मौसममा प्रयोग विस्तार गर्दै हराएका हाइकर्स, ट्रेकर्स, र पर्वतारोहीहरूलाई पत्ता लगाउन उपयुक्त बनाएको छ । यो प्रणाली रेक्को ह्यान्डहेल्ड डिटेक्टरलाई पूरक गर्छ र समथर जंगल तथा झाडी क्षेत्रदेखि उच्च हिमाली भूभागसम्म विभिन्न भू–भागमा प्रयोग गर्न सकिन्छ ।
रेक्कोका सीईओ फ्रेड्रिक स्टेनवालले नेपालमा रेक्को हेलिकप्टर डिटेक्टर सञ्चालन हुनु महत्वपूर्ण उपलब्धि भएको बताए । यस प्रविधिले उद्धार कार्यलाई छिटो, सुरक्षित र प्रभावकारी बनाउछ । नेपालमा रेक्को रिफ्लेक्टर एभरेष्ट आउटफिट लगायत स्कार्पा, कैलास, मिल्लेट, ब्लाक्याक, एसोलो जस्ता अन्तर्राष्ट्रिय ब्रान्डका गियरमा उपलब्ध छन् ।